प्रविधिको बढ्दो प्रयोगसँगै समाजमा देखा परेका डिजिटल सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै घ्याङलेख गाउँपालिकाको आयोजनामा विद्यालय स्तरिय साईबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रमको प्रशिक्षण ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण थापा मगर र घ्याङलेख गाउँपालिका सिन्धुलीका सूचना प्रविधि अधिकृत जिवन घिमिरे ज्यूले गर्नु भएको थियो।प्रशिक्षणका क्रममा सूचना प्रविधि अधिकृत घिमिरेले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन वित्तीय ठगी (Online Fraud) बाट बच्ने उपाय, बलियो पासवर्डको महत्त्व र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित जोखिमहरूका बारेमा प्रयोगात्मक जानकारी गराउनुभएको थियो। साथै, प्रहरी निरीक्षक मगरले नेपालको प्रचलित कानुन बमोजिम साईबर अपराधमा हुने सजाय र घटना घटेमा कानुनी उपचारका लागि उजुरी गर्ने प्रक्रियाका बारेमा सहभागीहरूलाई स्पष्ट पार्नुभयो। कार्यक्रमा घ्याङलेख गाउँपालिका भित्रका सबै सामुदायिक मा.वि विद्यालयहरुमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई सहभागीता गराइएको थियो।







